काठमाडौं, २० अगस्ट २०२६ — लगातार चार कारोबार दिन घटेको नेपालको शेयर बजारमा बिहीबार सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २,६२९.४० विन्दुमा बन्द भएको छ।
वाणिज्य बैंक, जलविद्युत्, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहका सूचक बढेपछि बजारमा सुधार आएको हो।
बिहीबार १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ। १३ कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन।
माउन्ट एभरेस्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर मूल्य सकारात्मक सर्किटमा पुगेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो।






