काठमाडौँ, सेप्टेम्बर १९, २०२६ — नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले नेपालमा सम्पत्ति तथा धितोमा आधारित कर्जा प्रणालीका कारण परियोजना आधारित वित्तपोषण निरुत्साहित भएको बताएका छन् ।
काठमाडौँमा अर्थको अर्थले आयोजना गरेको ‘बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अर्थतन्त्र’ विषयक कार्यक्रममा बोल्दै पौडेलले नेपालमा प्रवाह हुने कुल कर्जाको करिब ६७ प्रतिशत हिस्सा स्थिर सम्पत्ति वा धितोमा आधारित रहेको बताएका हुन् ।
उनका अनुसार सम्पत्तिको धितोमा कर्जा दिन सकिने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले परियोजनाको सम्भाव्यता, जोखिम र नवीनताका आधारमा कर्जा प्रवाह गर्न कम प्रोत्साहन पाउने गरेका छन् । सम्पत्तिको ब्याकअपमा कर्जा दिन सकिने अवस्थामा बैंकहरूले जोखिम लिएर नवीन परियोजनामा लगानी गर्न हिच्किचाउने उनको भनाइ छ ।
पौडेलले नेपालको वित्तीय प्रणालीलाई सम्पत्ति धितोमा आधारित वित्तपोषणबाट परियोजना आधारित वित्तपोषणतर्फ लैजानुपर्ने र बैंकहरूलाई परियोजनाको जोखिम मूल्याङ्कन तथा व्यवस्थापनमा सक्षम बनाउनुपर्नेमा जोड दिए ।
उनले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय कर्जा विस्तार र कर्जा असुली दुवैमा चुनौती भोगिरहेको बताए । साना कर्जा लिनेहरूले कर्जा तिर्नुपर्दैन भन्ने धारणा विकास हुँदा कर्जा दिने र लिने दुवै पक्षमा समस्या सिर्जना भएको उनको भनाइ छ ।






