दार्चुला, ४ सेप्टेम्बर २०२६ — दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा शुक्रबार दिउँसो खसेको ठुलो पहिरोले चमेलिया नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएपछि स्थानीयमा त्रास फैलिएको छ। पहिरो निरन्तर झरिरहेका कारण नदी पुनः थुनिन सक्ने जोखिम कायमै रहेको गाउँपालिकाले जनाएको छ।
अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार शुक्रबार बिहानैदेखि भट्टार क्षेत्रमा स–साना पहिरो खसिरहेका थिए। दिउँसो करिब १ बजेतिर भने ठुलो पहिरो खसेपछि भट्टारको तल्लो क्षेत्रमा चमेलिया नदी करिब आधा घण्टा पूर्ण रूपमा रोकिएको थियो।
अहिले नदीले पहिरोको माटो तथा ढुंगा कटान गर्दै बिस्तारै आफ्नो बाटो बनाएको छ र आंशिक रूपमा बगिरहेको छ। तर पहिरो झर्ने क्रम नरोकिएकाले नदी फेरि थुनिन सक्ने जोखिम रहेको अध्यक्ष बोहराले बताए।
उनका अनुसार अहिलेको पहिरो सामान्य प्रकृतिको छैन। पूरै डाँडोको ठूलो हिस्सा खसेको जस्तो देखिने गरी पहिरो गएको उनले बताए।
पहिरोले भट्टार क्षेत्रमा ५ सय मिटरभन्दा बढी पदमार्ग तथा सिँढीमा क्षति पुर्याएको छ। स्थानीयका खेतबारीसमेत बगेका छन् भने एउटा सामुदायिक भवनमा आंशिक क्षति पुगेको छ।






