चितवन, अक्टोबर २५, २०२६ — चितवनमा चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म ३ हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन्। यस अवधिमा ६ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट नागरिकता जारी गरिएको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकास विकका अनुसार जिल्ला प्रशासन कार्यालयबाट २ हजार ८२४ र माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका छन्।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनेमा १ हजार ४१८ महिला र १ हजार ४०६ पुरुष छन्। माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन्।
तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट १५ महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्। अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन्। यसै अवधिमा नौ महिला र २२ पुरुषसहित ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। माडीबाट एक महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र एक जनाले अङ्गीकृत नागरिकता लिएका छन्।
यस अवधिमा जारी गरिएका ६ हजार ७६६ नागरिकताको प्रतिलिपिमध्ये जिल्ला प्रशासन कार्यालयबाट ६ हजार ११६ र माडीबाट ६५० वटा जारी भएका छन्। जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिनेमा २ हजार ९८७ महिला, ३ हजार १२८ पुरुष र अन्य लैङ्गिक समूहमा अभिलेख भएका एक जना छन्। माडीबाट प्रतिलिपि लिनेमा ३२३ महिला र ३२७ पुरुष छन्।






