काठमाडौं, २ सेप्टेम्बर २०२६ — प्रधानमन्त्री तथा काठमाडौं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहको निर्णयबाट विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा बिराजसिंह थापा रजिस्ट्रार नियुक्त भएका छन्।
थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
थापाले काठमाडौं विश्वविद्यालयमा पछिल्लो २२ वर्षदेखि सहप्राध्यापकका रूपमा काम गर्दै आएका छन्। उनले नर्वेबाट जलविद्युत विषयमा विद्यावारिधि गरेका छन्।
शपथग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि सक्रिय र सहकार्यात्मक ढंगले काम गर्न थापालाई आग्रह गरे। उनले विशेष ट्रस्टी मोडलअन्तर्गत काठमाडौं विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा पनि जोड दिए।
मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयहरूबीच थप समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले काठमाडौं विश्वविद्यालयले आफ्नो छुट्टै पहिचान कायम राख्दै कक्षा १२ पछि विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने तयारीमा रहेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।






