काठमाडौं, २ सेप्टेम्बर २०२६ — रसुवा बाढीपछि दुई कारोबार दिनदेखि लगातार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १५.४४ अंकले बढेर २,५३८ विन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से ९.२४ अंकले बढेको थियो। बुधबारको वृद्धि करिब एक महिनापछि नेप्सेमा देखिएको दोहोरो अंकको वृद्धि हो। यसअघि जुलाई ३१ मा नेप्से १२.९६ अंकले बढेको थियो।
बुधबार कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ। मंगलबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ।
बुधबार १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ। १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
समूहतर्फ निर्जीवन बीमा र म्युचुअल फन्ड समूहका सूचक मात्र घटेका छन्। निर्जीवन बीमा समूहको सूचक ७.२८ अंक र म्युचुअल फन्डको ०.०१ अंकले घटेको छ। बाँकी ११ वटा समूहका सूचक बढे पनि कुनै पनि समूहको वृद्धि एक प्रतिशतभन्दा बढी छैन।






