सङ्खुवासभा, सेप्टेम्बर ४, २०२६ — सङ्खुवासभाको मकालु गाउँपालिका–१, चिरखाङमा एक विद्यालयका शिक्षकको गोली हानी हत्या गरिएको छ।
मृतक ३६ वर्षीय नरकुबिर खम्बु राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिएका छन्। राई चिरखाङस्थित कालिका आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए।
विद्यालय परिसरमै बस्दै आएका राई बिहीबार राति खाना खाएपछि हात धुन बाहिर निस्किएका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटनाबारे उनका सहकर्मी शिक्षिका टीकामाया राईले प्रहरीलाई जानकारी गराएकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मेघराज आर्यालको नेतृत्वमा प्रहरी टोली र हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ। गोली प्रहार गर्नुको कारण तथा घटनामा संलग्न व्यक्तिको पहिचानसम्बन्धी थप विवरण तत्काल खुल्न सकेको छैन।






