काठमाडौं, अक्टोबर २५, २०२६ — पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स ५७ अंकसहित शीर्ष स्थानमा रहेको छ। होराले छ खेलमा एक चिकेन डिनरसहित उक्त अंक जोडेको हो।
प्रतियोगिताको अन्तिम दिन आइतबार थप छ खेल हुनेछन्। आवश्यक परे सातौँ खेल पनि खेलाइनेछ। पहिलो दिन शीर्ष स्थानमा रहँदै होराले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।
होराले ५७ अंक जोडेसँगै स्म्याश रुल लागू हुन आवश्यक थ्रेसहोल्ड ६७ अंक पुगेको छ। यो नियमअनुसार कुनै टोलीले ६७ अंकको थ्रेसहोल्ड पार गरेपछि त्यसपछिका खेलमध्ये कुनै एकमा चिकेन डिनर जितेमा उपाधि जित्नेछ। यस्तो भएपछि प्रतियोगिता समाप्त हुनेछ।
होराले आइतबार पहिलो खेलमै कम्तीमा १० अंक जोडेर कुल अंक ६७ पुर्याउन सकेमा स्म्याश रुल लागू हुने अवस्थामा पुग्नेछ। त्यसपछि अर्को खेलमा चिकेन डिनर जित्दै उपाधि जित्ने अवसर उससँग हुनेछ।
थ्रेसहोल्ड पार गरेपछि चिकेन डिनर जित्ने टोली नै विजेता बन्ने भएकाले अन्तिम दिनका खेल निर्णायक हुनेछन्।






